संक्षिप्त परिचय

१.१ ऐतिहासिक पृष्ठभूमि
रुकुम पूर्व जिल्लाको भूमे गाउँपालिका अन्तर्गत वडा नं. ३ मा पर्ने क्याङ्सी गाउँमा श्री शहीद वासु स्मृति नमुना आधारभूत
विद्यालय रहेको छ। सुरुमा क्याङ्सी गाउँलाई क्या‌ङ्सिङ् भन्‍ने गरिएको र क्या‌ङसीङबाट अपभ्रंश भइ क्याङ्सी भएको कुरा
पुराना बुढापाखा मानिसहरुबाट सुन्‍ने गरिन्छ। मगर खाम भाषामा क्याङ भनेको शरीर र सिङ् भनेको दाउरा भन्‍ने अर्थ लागे
पनि क्याङ्सी गाउँलाई सुरुमा क्याङ्‍सी नामाकरण कसरी गरिएको थियो भन्‍ने तथ्य प्राप्‍त हुन सकेको छैन्।
वि.सं. २०३० सालमा क्याङ्‍सी टोलका सूर्य बहादुर रोका र गणेश रोकालाई केही आर्थिक सहयोग जुटाई क्याङ्‍सीमा टोल
शिक्षा सञ्चालन गरिएको थियो। उक्त समयमा किताब, कापी र कलमको उपलब्धता नभएका कारण लेख्‍नका लागि
काठको फ्ल्याक र खरीको प्रयोग गरिन्थ्यो। साँझ बिहानको समयलाई सदुपयोग गरी पठनपाठन सञ्चालन गरिएको थियो।
वि.सं. २०३३ सालमा श्री प्राथमिक विद्यालय क्याङ्सीको विधवत स्थापना भएको थियो। उक्त विद्यालयको संस्थापक
अध्यक्ष खड्ग बहादुर रोका र पहिलो प्रधानाध्यापक दिकपाल शाह रहनुभएको थियो भने विद्यालयले कक्षा ५ सम्म
सञ्चालनको स्विकृति वि.सं. २०३७ सालमा प्राप्‍त गरेको थियो। तत्पश्चात वि.सं. २०६९ सालसम्म श्री प्राथमिक विद्यालय
क्याङ्सीको नामले आधारभूत तह कक्षा १ देखि ५ सम्म पठनपाठन सञ्चालन हुँदै आएको थियो।
वि.सं. २०५२ साल फाल्गुण १ गते देखि माओवादीले सशस्त्र युद्धको थालनी गरेपछि सरकार पक्षबाट मारिएका शहीदका
छोराछोरी तथा जनयुद्धको प्रभावमा परेका बालबालिकाहरुलाई संरक्षण तथा पठनपाठनकोलागि वि.सं. २०५९ भाद्र १३
गते माओवादी पार्टिले रुकुम पश्चिममा पर्ने दुलीको छहरामा घुम्ति विद्यालयको रुपमा बाल संरक्षण केन्द्र सञ्चालनमा
ल्याएको थियो। उक्त केन्द्रलाई रुकुम पश्चिम अन्तर्गत पुर्तिमकाँडा गिठाकोट र रुकुम पश्चिमकै खागलमा पनि सञ्चालनमा
ल्याइएको थियो। वि.सं. २०६१ फाल्गुण १ गते जनयुद्ध दिवसको अवसरमा साविकको प्वाङ गाविस वडा नं. २ को
छिपखोलामा गोरखा जिल्लाका शहीद शुरेस वाग्ले (वासु) को सम्झनामा वासु स्मृति जनवादी स्कुलमा उक्त केन्द्रलाई
रुपान्तरण गरी आफ्नै जनवादी पाठ्यक्रम अनुसार समाज विज्ञान, सैन्य विज्ञान, राजनीतिशास्त्र लगायतका विषयहरु ने.क.पा.
(माओवादी) पार्टीको आर्थीक सहयोग र स्वयंसेवक शिक्षकहरुबाट पठनपाठन सञ्चालन गरिएको थियो। वासु स्मृति जनवादी स्कुललाई वि.सं. २०६२ सालमा शहीद वासु स्मृति नमुना विद्यालयको रुपमा नामाकरण गरी वि.सं. २०६३ सालमा
छिपखोलाबाट भुमे-३, क्याङ्सी (साविकको मोराबाङ गाविस वडा नं. ७) मा स्थानान्तरण गरी आवासिय विद्यालयको रुपमा जिल्ला भित्रका शहीद परिवार र वेपत्ता परिवारका करिब ७०/८० जना विद्यार्थी राखी आफ्नै जनवादी पाठ्यक्रम अनुसार
पठनपाठन गरिदै आएका थियो।आफ्नै स्रोत र साधनबाट सञ्चालन भएको उक्त विद्यालयलाई वि.सं.२०६५सालमा कक्षा ६,
वि.सं. २०६६ मा ७ र वि.सं. २०६८ मा कक्षा ८ सञ्चालनको अनुमति तथा निमावि राहत कोटा १, प्रावि राहत कोटा २ र बालविकास शिक्षक कोटा १ वटा प्रदान गरिएको थियो। त्यस समयमा ४ जना स्वयंसेवक शिक्षकहरु पनि रहेका थिए।
श्री प्राथमिक विद्यालय क्याड्सी र श्री शहीद वासु स्मृति नमुना आधारभूत विद्यालय क्याड्सीको दुरी नजिक तथा दुवै विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून देखिएकोले तत्कालिन जिशिका रुकुमले ति दुवै विद्यालयलाई वि.सं. २०६९ मा समायोजन गरेको थियो । समायोजनपश्चात एउटै बनेको विद्यालय श्री शहीद वासु स्मृति नमुना आधारभूत विद्यालय क्याङ्सीको नामले परिचित रहेको छ। हाल यस विद्यालयमा बालविकास देखि कक्षा ८ सम्म पठनपाठन भइरहेको छ।

१.२ भौगोलिक अवस्था
यो विद्यालयको पूर्वमा काँक्री, पश्चिममा सिमा, उत्तरमा झुम्लाबाङ र दक्षिणमा लुकुमगाड खोला र महत गाउँ पर्दछन्। यो विद्यालय २८.५६००५० उत्तरी अक्षांश र ८२.६८९२२०० पूर्वी देशान्तरमा रहेको छ। समुन्द्र सहत देखि २१५० मिटरको उचाइमा छ। बाँझका झुम्म परेका रुखहरुको जङ्गल, स्वच्छ हावापानी, शान्त र मनोरम वातावरणिय क्षेत्र तथा उच्च स्थानमा रहेको यस विद्यालयबाट वरवरको सुन्दर दृष्य अवलोकन गर्न सकिन्छ। यो विद्यालय रुकुम पूर्वको सदरमुकाम रुकुमकोट देखि पूर्व दिशातर्फ करिब २४ कि.मि. दुरिमा रहेको छ भने मध्यपहाडी राजमार्ग अन्तर्गत शैपाटुडबाट करिब ४
कि.मी. कच्ची सडकको यात्रा गरेपछि यस विद्यालयमा पुग्न सकिन्छ।
यस विद्यालयको कित्ता नं. १६१ मा ३४३६० वर्ग मि., कित्ता नं. २२८ मा २४५ वर्ग मि., कित्ता नं. २३५ मा १९५ वर्ग मि., कित्ता नं.३९९ मा ३१५ वर्ग मि. र कित्ता नं.४०१ मा २८० वर्ग मि. गरी जम्मा ३५३९५ वर्ग मिटर क्षेत्रफल रहेको छ।विद्यालयका भवनहरु दुई स्थानमा रहेका छन्। पहिले पठनपाठन हुदै आएको क्याङ्सी गाउँमा रहेको भवनलाई हाल छात्रवासको रुपमा प्रयोग गरिएको छ भने गाउँ भन्दा माथि रहेको विद्यालयको जग्गामा भवन बनाई हाल पठनपाठन
पठनपाठन सञ्चालन भइरहेको छ।
१.३ विद्यालय रहेको समुदायको बनोट
यस विद्यालयको सेवा क्षेत्र भुमे-३, क्याङ्‌सी (साविक मोराबाङ गाविसको वडा नं. ६ र ७) अन्तर्गत करीब ११४ घरधुरी र ८०० जति जनसङ्ख्या रहेको छ। पुरुष भन्दा महिलाको जनसङ्ख्या केही बढी रहेको छ। यहाँ मगर र दलित जातिहरुको बसोबास रहेको छ। मगरहरु आफ्नो मातृभाषा खाममा बोल्ने गर्दछन्। हिन्दु धर्म मान्‍नेहरुको बाहुल्यता भएपनि हाल हिन्दु
छोडेर इसाई धर्म मान्‍नेहरुको सङ्ख्या पनि बढ्‌दो क्रममा रहेको छ। यस गाउँका समुदायहरूले प्रकृति र पितृ मान्ने चलन बढी रहेको छ।  यहाँका मानिसहरुले बल पुजा (भूमे नाच), रॉक सङ्‌क्रान्ती, माघी पर्व, दशै, तिहार र क्रिसमस डे जस्ता चाडपर्वहरु मनाउने गर्दछन्। यहाँको मुख्य पेसा कृषि र वैदेशिक रोजगार हो भने केही मात्रामा सरकारी जागिरेहरू पनि छन्। शिक्षामा त्यति महत्व नदिने भएकोले शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगति गरेको देखिदैन्।
१.४ विद्यालय सेवा क्षेत्र
मुख्यगरी यस विद्यालयको सेवा क्षेत्र क्याङ्सी र गाबाङ टोल नै हो। अन्य नजिका क्षेत्रबाट पनि यहाँ केही विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन्। गाउँदेखि विद्यालय टाढा रहेकोले साना विशेषगरी ECD र  कक्षा १ – ३ का बालवालिकाहरुलाई विद्यालय ल्याउन र लैजान समस्या रहेको छ।
१.५ विद्यालयमा सञ्चालित कार्यक्रम
यस विद्यालयमा हाल बालविकास देखि कक्षा ८ सम्म पठनपाठन भईरहेको छ। नेपाल सर्वाङ्गीण विकास समाजद्वारा बालविकास देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा निःशुल्क रुपमा खुवाइदै आइरहेको छ। एकजना भान्से समेत उपलब्ध गराइको छ र उक्त भान्सेलाई हरेक दिन ३ जना अभिभावकहरुले खाजा तयार गर्न सघाउने गरी कार्यतालिका निर्माण गरिएको छ।